धनुषामा सात लाखभन्दा बढीको भन्सार छलीका सामान बरामद


eShilalekh

१७ कार्तिक २०८३, मंगलवार १३:५१

जनकपुरः सशस्त्र प्रहरीले धनुषाको जनकनन्दिनी गाउँपालिका-१ स्थित झोलुङ्गे पुल नजिकबाट लाखौं मूल्य बराबरको अवैध सामानहरू बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी इनर्वाबाट खटिएको गस्ती तथा मोबाइल टोलीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेका विभिन्न किसिमका अवैध सामानहरू बरामद गरेको हो।

प्रहरीले लत्ताकपडा, इलेक्ट्रिक सामान, चप्पल, भगवानका फोटो तथा माटाका मूर्ति, मोटरसाइकलका पार्टस र कस्मेटिक सामानसहित ढुवानीमा प्रयोग गरिएका चार वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ।

बरामद सामग्री र सवारीसाधनको कुल बजार मूल्य सात लाख ५७ हजार सात सय ७० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिएका सम्पूर्ण अवैध सामान तथा मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्