छुरा प्रहार गरी युवकको हत्या, चार जना पक्राउ


eShilalekh

२६ असार २०८१, बुधबार १३:००

सिमराः रौतहटको दक्षिणीभेग भारतीय सीमासँग जोडिएको इशनाथ नगरपालिकामा छुरा प्रहार गरी एक जना युवकको हत्या भएको छ।

इशनाथ-९ लवातना गाउँका करिब १८ वर्षीय सहबाज मियाँ आलमको पेटमा धारीलो हतियार छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले जानकारी दिइन् ।

ईशनाथ २ औरेया स्थित आँपको बगैँचामा युवक घाइते अवस्थामा देखेर गएराति साढे ९ बजे स्थानीयले प्रहरीलाई खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमा शंकर गुप्ताको कमान्डमा १० जना र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट औरेयाबाट इन्स्पेक्टर दिल बहादुर महराको कमान्डमा ७ जनाको संयुक्त टोली ९ बजेर ३८ मिनेटमा घटना स्थलमा पुग्दा युवकको मृत्यु भइसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले बताएका छन्।

प्रवक्ता गिरीका अनुसार मृतक आलमलाई गाउँकै केही साथीहरूले मङ्गलवार साँझ ७ बजे केही काम छ भनेर घरबाट बोलाएर लागेका थिए। त्यसपछि उनको पेटमा छुरा प्रहार गरी हत्या गरिएको थियो।

हत्यामा संलग्न रहेको आशङ्कामा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता गिरीले जानकारी दिइन्। पक्राउ परेका चारै जना मृतकका साथी हुन् । उनीहरू लागु औषध प्रयोगकर्ता भएको प्रहरीको अनुमान छ ।

हत्याको कारण हालसम्म खुल्न नसकेको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्