बाढी र पहिरोमा परी ७२ दिनमा देशभर एक सय ९५ जनाको मृत्यु


eShilalekh

७ भाद्र २०८१, शुक्रबार २१:५३

सिमराः वर्षासंगै आएको बाढी, पहिरो तथा विपद्मा परी पछिल्लो दुई महिनामा देशभर झण्डै दुई सय जनाको मृत्यु भएको छ । जेठ २८ गतेदेखि भदौ ७ गतेसम्म एक सय ९५ जनाले विपद्मा परि ज्यान गुमाएका हुन् ।

यसरी ज्यान गुमाउनेमा मधेस प्रदेशका मात्रै आठ जना रहेका छन् । विपद्मा परी मधेस प्रदेशमा एक जना अझै वेपत्ता छन् भने १२ जना घाईते छन् ।

मधेस प्रदेशबाहेक गण्डकी प्रदेशमा ५६, लुम्बिनीमा ३७, बागमतीमा ३६, कोशीमा २७, सुदूरपश्चिममा १५, कर्णालीमा १३ र काठमाडौं उपत्यकामा तीन जनाको ज्यान गएको छ ।

यसैगरी पछिल्लो ७२ दिनमा मधेस प्रदेशका तीन सहित बागमतीमा ४१, गण्डकीमा र कोशीमा दुई/दुई तथा लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्‍चिममा एक/एक जना गरी ४९ जना वेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी अझै जारी छ ।

बाढी पहिरोमा परेर कर्णाली प्रदेशमा ५९, गण्डकीमा ४७, कोशीमा ३८, सुदूरपश्‍चिममा ३४, बागमतीमा २७, लुम्बिनीमा १९ र काठमाडौंमा ११ गरी जम्मा दुई सय ४७ जना घाइते भएका छन् ।

दुई महिनायता देशभर पाँच हजार आठ सय ८३ घरपरिवार विस्थापित हुन पुगेका छन् । बाढी पहिरोमा परेर तीन सय ४२ वटा घर, ५१ वटा पुल, ६ वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने नौ सय भन्दा बढी पशु चौपायाको मृत्यु भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्