मोटरसाइकल दुर्घटनामा पथलैयाका एक युवकको मृत्यु


eShilalekh

८ भाद्र २०८१, शनिबार २१:०४

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैयामा शनिबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा २७ वर्षीय आदेश तामाङले ज्यान गुमाएका छन् । पथलैया चोकबाट करिब एक किलोमिटर दक्षिणतर्फको सडकमा तामाङ सवार मोटरसाइकल दुर्घटना भएको हो ।

तामाङ सवार बा७५प ५४५१ नम्बरको मोटरसाइकलले हेटौडा रातोमाटे घर भएका रिकेश रुम्बालाई ठक्कर दिएको थियो । रुम्बालाई ठक्कर दिएलगत्तै मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किन पुगेको प्रत्यक्षदर्शीको भनाई छ ।

पोलमा ठोक्किन पुग्दा तामाङको टाउकोमा गम्भीर चोट लागेको थियो । दुर्घटनालगत्तै तामाङलाई वीरगन्जस्थित बयोधा अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक युवा पथलैयाका आशा तामाङका माइला छोरा हुन् । दुर्घटनामा ज्यान गुमाएका तामाङको शव शल्यपरीक्षण गरी साँझ घर ल्याइएको छ ।

यता मोटरसाइकलको ठक्करबाट घाईते रुम्बाको बयोधा अस्पतालमा उपचार भईरहेको छ । खतरामुक्त रहेका रुम्बाको खुट्टा र हातमा गम्भीर चोट छ ।

प्रतिक्रिया दिनुहोस्