बाराबाट तीर्थयात्रु बोकेर जाँदै गरेको बस भारतको समस्तीपुरमा दुर्घटना

सिमराः बाराबाट तीर्थयात्रु बोकेर भारत जाँदै गरेको बस दुर्घटना भएको छ । बाराको बारागढी गाउँपालिका ३ मुक्तीपालिया टोलबाट तीर्थयात्री बोकेर भारतको देवघर जादै गरेको ना७ख ६४४६ नम्बरको बस बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार बसमा ४३ यात्रु सवार थिए । जसमध्ये ३० जना भन्दा बढी घाईते भएका छन् । घाईतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

घाईते हुनेमा मुक्तिपालिया टोलका सीमा कुमारी, विश्वनाथ मुखिया, शोभा कुमारी, राजेश्वरप्रसाद साह, मुस्कान साह, फेकन मुखियालगायत रहेका छन् । घाईतेको सदर अस्पताल र मुसरी घरारीको क्लिनिकमा उपचार भईरहेको छ ।
भारतको देवघरधाम जाँदै गरेको बसलाई समस्तीपुरको मुसरी घरारी चोकमा शनिबार राती ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट बस अनियन्त्रित हुँदै सडकमा पल्टिएको हो ।

बारागढी गाउँपािलकाका अध्यक्ष अशोक जैसवालले मुक्तिपालियाबाट तीर्थयात्रु बोकेर गएको बस दुर्घटना भएको खबर आएको पुष्टि गरेका छन् । घटनाको खबर आएलगत्तै पालिकाको कार्यालयमा छलफल भईरहेको बताए ।
यता बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता प्रकाश सापकोटाले बस दुर्घटनाको खबर आएको र घटनाको विषयमा थप जानकारी लिने काम भईरहेको जानकारी दिएका छन् ।