रौतहटमा सुमो र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु


eShilalekh

१० भाद्र २०८१, सोमबार १७:०९

सिमराः पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढ–चन्द्रनिगाहपुर सडकखण्डमा टाटासुमो र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १५ का ३३ वर्षीय तुलसी ओझा र मोरङ सुन्दरहरैचा नगरपालिका ११ का विवश सापकोटा रहेका छन् । उनि दुवैको घटनास्थलमै मृत्यु भएको हो ।

निजगढबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१च ५३१ नम्बरको टाटा सुमो र चन्द्रनिगाहपुरबाट निजगढतर्फ आउँदै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल चन्द्रपुर ४ स्थित धन्सार पुल नजिकै एकआपसमा ठोक्किन पुगेको थियो । दुर्घटनालगत्तै मोटरसाइकलमा सवार दुवैलाई अस्पताल लगिएपनि चिकित्सकले मृत घोषित गरेका गरेका थिए ।

सुमोलाई प्रहरीले नियन्त्रणमा लिएको र मृतकको शव शल्य परीक्षणका लागि चन्द्रपुरस्थित अस्पतालमा लगिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्