काठमाडौंको शंखमूलमा एक व्यक्तिको हत्या गरेको आरोपमा बाराका युवक पक्राउ

सिमराः काठमाण्डौं महानगरपालिका १० स्थित शंखमूलमा एक व्यक्तिको हत्या गरेको आरोपमा बाराका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका ७ घर भइ हाल काठमाडौं बस्दै आएका २२ वर्षीय एमके कुमार रहेका छन् ।
एमकेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । उनिमाथि शंखमूल घर भएका स्नुकर संचालक ४१ वर्षीय रुपक बान्तवा राईलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप छ । एमकेको डेराबाट धारिलो हतियार समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार एमकेले व्यक्तिगत रिसइबीका कारण राईमाथि सोमबार बिहान धारिलो हतियार प्रहार गरी फरार भएका थिए । रुपक आफ्नै खाजा तथा स्नुकर हाउसको सोफामा गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि सिभिल अस्पतालमा पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनालगत्तै प्रहरीले आक्रमण गर्नेको खोजी गरिरहेको थियो ।
एमकेको डेराबाट मृतक राईको पर्स, चस्मा, झोला, लुगा समेत बरामद भएको प्रहरीले जनाएको छ ।