वीरगञ्जको नारायणी अस्पतालमा क्यान्सरको उपचार सुरु हुने

सिमराः वीरगञ्जको नारायणी अस्पतालमा क्यान्सरको उपचार सेवा सुरु गर्ने तयारी भईरहेको छ ।
यही भदौ २५ गतेदेखि क्यान्सरको उपचार सेवा सुरु गर्ने तयारी भइरहेको नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. एनामुल हकले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलद्वारा क्यान्सर उपचार सेवा विस्तार सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गरेसंगै वीरगञ्जको नारायणी अस्पतालमा क्यान्सरको उपचार सूचारु गर्ने बाटो खुलेको हो ।
मन्त्री पौडेलको निर्देशनमा वीरगञ्जको नारायणी अस्पतालले क्यान्सरको उपचार सेवा थालनी गर्न लागेको मेसु डा. हकले बताए । उनका अनुसार मधेश प्रदेशका बासिन्दालाई लक्षित गर्दै वीरगञ्जको नारायणी अस्पतालमा क्यान्सर सम्बन्धी विशेषज्ञ सेवा सुरु गर्न लागेको हो ।
नारायणी अस्पतालमा क्यान्सर सम्बन्धी विशेषज्ञ सेवा सुचारु गर्नका लागि आवश्यक स्वास्थ्य उपकरण जडानको काम भइरहेको छ । साथै दुई जना चिकित्सकलाई प्रशिक्षणका लागि भरतपुर क्यान्सर अस्पतालमा पठाइएको पनि डा. हकले जानकारी दिए ।
नारायणीसँगै चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कोशी प्रदेशको विराटनगर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट क्यान्सरको विशेषज्ञ सेवा सुरु हुने भएको हो ।
स्वास्थ्य मन्त्री पौडेलले प्राथमिकतामा राखेर कार्य अगाडि बढाएको हुँदा यसबाट देशैभर बिरामीको उपचार सेवा थप सहज हुने भएको छ ।