रौतहटका चार जना बालकको दिल्लीबाट उद्धार

सिमराः भारतको दिल्लीबाट रौतहटका चार जना बालकलाई उद्धार गरिएको छ ।
रौतहटको गरुडा नगरपालिका स्थित जयनगर गाउँको चार जना बालकलाई भारतको राजधानी दिल्लीबाट सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
सामाजिक अभियन्ता सरोज रायले भारतीय प्रहरीको सहयोगमा बालकहरुलाई दिल्लीबाट उद्वार गरेका छन् ।
जयनगर नजिककैको गाँउमा बस्ने एक व्यक्तिले ती चारै जना बालकलाई काममा लगाउने प्रलोभन देखाई एक महिना अघि दिल्ली लगेका थिए ।
दिल्लीमा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । ती बालकहरु १३ देखि १६ वर्ष उमेर समूहका रहेका छन् । बाल तस्करीको मुद्दामा बालकलाई लैजाने व्यक्तिलाई प्रहरीले हिरासतमा राखेको छ ।
शनिबार दुई बालकलाई नेपाल फिर्ता ल्याइएको छ भने बाँकी दुई बालकलाई सोमबार फिर्ता ल्याउने अभियन्ता रायले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।