सिमराकी पूजाको तेस्रो म्युजिक भिडियो सार्वजनिक, अभिनयबाट बटुल्दै छिन् चर्चा

सिमराः बारा सिमराकी पूजा पौडेलले अभिनय गरेको उनको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक बद्री पंगेनीको युट्युब च्यानलबाट शुक्रबार बिहान म्युजिक भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा पूजा वैदेशिक रोजगारीका लागि विदेशिएका यूवाको श्रीमतीको भूमिकामा छिन् । उनले विदेश गएका श्रीमानलाई नेपाल बोलाएर स्वरोजगार बन्न प्रेरित गरेको भिडियोमा देख्न सकिन्छ ।
‘युवा तिमी’ बोलको उक्त गित गायक पंगेनी र शान्तिश्री परियारले गाएका हुन् भने भिडियोको निर्देशन गायक पंगेनी आफैले गरेका छन् । इन्जिनियर नारायण ज्ञवालीद्धारा लेखिएको उक्त गितमा गोविन्द पंगेनी र विनोद बाजुरालीले संगीत भरेका छन् । भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।

करिब १० मिनेटको उक्त भिडियोमा पूजासंगै क्षितिज गिरी, सन्देश चापागाईं, बि.बि.मल्ल ठकुरीलगायतका कलाकारले अभिनय गरेका छन् । भिडियोमा युवालाई देशमै बस्न र देशभित्रै स्वरोजगारमूलक काम गर्न अनुरोध गरिएको छ । युवा देशमा नबसेसम्म देश नबन्ने सन्देश गितमा दिन खोजिएको छ ।
पूजाको यो तेस्रो म्युजिक भिडियो हो । यसअघि उनले बद्री पंगेनी र एलिना चौहानले गाएको ‘दुई पाइला’ बोलको गितमा अभिनय गरेकी थिईन् । गायक प्रकाश सपुतसंगै पूजाको अभिनय रहेको उक्त गितले निकै चर्चा बटुलेको थियो । एक वर्षअघि युट्युबमा राखिएको उक्त भिडियो ९२ लाख ५३ हजार भन्दा बढीले हेरिसकेका छन् ।
त्यसअघि पूजाले ‘जिन्दगी यस्तै भयो’ बोलको म्युजिक भिडियोमा अभिनय गरेकी थिईन् । कस्तुप पन्तको शब्द र संगीत रहेको उक्त गित बद्री पंगेनी र शान्तिश्री परियारले गाएका हुन् । पन्तको युट्युब च्यानलमा राखिएको उक्त गीतलाई अहिलेसम्म चार लाख ६७ हजारले हेरेका छन् । अन्यन्तै सरल स्वभावकी पूजाले पछिल्लो समय अभिनयबाट निकै चर्चा बटुलिरहेकी छिन् ।