अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ

सिमराः कलैया उपमहानगरपालिका १८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका १२ मुर्लीका २३ वर्षीय रिकेश कुमार गुप्ता, सोही वडाका २५ वर्षीय राजन गुप्ता, सखुवाप्रसौनी गाउँपालिका ३ का २४ वर्षीय सिकेन्द्र साह रहेका छन् । पक्राउ परेका नाबालकको विवरण भने सार्वजनिक गरिएको छैन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुवास भट्टका अनुसार प्रहरीले अपहरणमा परेका साहको वीरगञ्ज महानगर १२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको थियो ।
पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको प्रहरीले जनाएको छ ।