रौतहटमा सवारी दुर्घटना हुँदा बारामा कार्यरत प्रहरी जवानको मृत्यु

रौतहट: रौतहटको फतुवा विजयपुर नगरपालिका–११ राङ्गी टोलमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा गुजरा नगरपालिका–४ पोखरभिन्डाका ३५ वर्षीय प्रहरी जवान सुभाष चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहट अनुसार बिहीबार साँझ करिब ६ः३० बजे दुधिअवा–बालचनपुर सडकखण्डमा उक्त दुर्घटना भएको हो ।दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना २ त ४७८६ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरी र मोटरसाइकलको पछाडि सवार उनकी ३० वर्षीया श्रीमती प्रहरी जवान निशा खड्कालाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत वीरगन्जस्थित बयोधा अस्पताल पठाइएको थियो ।
अस्पतालमा उपचारका क्रममा राति ८ः१० बजे चिकित्सकले चालक चौधरीलाई मृत घोषणा गरेका हुन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनकी श्रीमती निशा खड्काको अवस्था भने अझै गम्भीर रहेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक चौधरी बाराको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत थिए ।





