भारतको कीट विश्वविद्यालयमा वीरगन्ज निवासी प्रिसा साह मृत अवस्थामा फेला


eShilalekh

१९ बैशाख २०८२, शुक्रबार १२:२१

सिमराः भारतको ओडिसा राज्यस्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) विश्वविद्यालयमा बिहीवार साँझ एक नेपाली छात्रा मृत भेटिएकी छन् ।

कीट विश्वविद्यालयमा बीटेक सिएसईको पहिलो वर्षमा अध्ययनरत छात्रा १९ वर्षीय प्रिशा साह विश्वविद्यालयकै ‘क्यु सि ४’ छात्रवासको कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् । साह वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वा बस्ने श्याम साहकी छोरी हुन् ।

कलेज प्रशासनले बिहीवार राति ९ बजेतिर घरमा फोन गरेर प्रिशाको मृत्यु बारे जानकारी दिएको मृतक प्रिशाका भाइ गौरव साहले बताए । गौरबका अनुसार बिहीबार दिउँसो ३ बजेतिर कलेजबाट प्रिशाले घरमा फोन गरेर आफू मे १८ तारिखमा विदामा घर आउने जानकारी गराएकी थिइन् । प्रिशा एक वर्षअघि बिटेक अध्ययनका लागि कीट विश्वविद्यालय गएकी थिईन् ।

विश्वविद्यालयमा बीटेक पहिलो वर्षमा अध्ययनरत छात्रा प्रिशा साह झुन्डिएर मृत अवस्थामा भेटिएको भारतको दिल्लीस्थित नेपाली दूतावासले पनि पुष्टि गरेको छ । कलेज प्रशासनले घटनाबारे नेपालमा रहेका मृतकका परिवारजनलाई खबर गरिसकेको र उनीहरू कलेजमा आएपछि मात्रै शवको पोष्टमार्टम गरिने जानकारी गराएको नेपाली दूतावासले जनाएको छ ।

यसअघि गत फागुनमा पनि नेपालको बुटवलकी छात्रा २० वर्षीया प्रकृति लम्सालको त्यही विश्वविद्यालयमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।

यता प्रिसा साह मृत फेला परेको घटनाबारे प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिश्नर लगायतका वरिष्ठ अधिकारीहरू घटनाको कारणबारे सोधपुछ र अनुसन्धानमा जुटेको ओडिसाको मौलिक तथा जनसम्पर्क विभागले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्