क्याम्पसको पूर्वाधार र शैक्षिक विकासका लागि निजगढका स्ववियु नेताले मागे योजना


eShilalekh

१९ बैशाख २०८२, शुक्रबार १५:१६

सिमराः गौरीशंकर क्याम्पसका नव निर्वाचित स्ववियु सभापति बालकृष्ण हुमागाईंले क्याम्पसको शैक्षिक विकास र पूर्वाधार स्तरोन्नतिका लागि सांसद अच्युत मैनालीसंग बजेट माग गरेका छन् ।

नेकपा एमाले निजगढ नगर कमिटीको तेश्रो अधिवेशनको उद्घाटन समारोहमा समय लिदै स्ववियु सभापति हुमागाईंले सांसद मैनालीलाई मागपत्र बुझाएका हुन् । हुमाईगाईं एमाले निकट अनेरास्ववियुबाट निर्वाचित भएका स्ववियु सभापति हुन् ।

हुमागाईंले क्याम्पसको भवन निर्माण, पुस्तकालय तथा प्रयोगशाला सुधार, डिजिटल शिक्षण उपकरणको व्यवस्था र अन्य पूर्वाधार विकासका लागि एक करोड विनियोजन गर्न सांसदसंग माग गरिएको बताएका छन् । गौरिशंकर क्याम्पस निजगढको प्रमुख शैक्षिक संस्था रहेको उल्लेख गर्दै हुमागाईंले शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि पूर्वाधार विकास अपरिहार्य रहेको बताए ।

गौरीशंकर क्याम्पस सांसद मैनालीको निर्वाचन क्षेत्रमा अवस्थित छ । विद्यार्थी नेताको मागपत्र बुझ्दै सांसद मैनालीले क्याम्पसको पूर्वाधार विकासमा आफ्नो पूर्णरुपमा सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।

क्याम्पसको शैक्षिक स्तर विकास र पूर्वाधार थप गर्न विद्यार्थी नेताले प्रस्ताव ल्याएकोमा धन्यवाद व्यक्त गर्दै सांसद मैनालीले क्याम्पसलाई पूर्वाधार सम्पन्न र प्रविधिमैत्री बनाउन आफूले केन्द्रीय सरकारसंग समेत पहल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्