पर्सा प्रहरीद्वारा मानव बेचबिखन कार्यमा संलग्न एक जना पक्राउ

सिमराः पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई बुधबार साँझ वीरगन्जबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १ का २९ वर्षीय सुजन लामा उर्फ पासाङ तामाङ रहेका छन् ।
नेपाल–भारत सिमानामा चेकिङका क्रममा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले भारततर्फ जान लागेका एक पुरुष र एक युवतीलाई रोकेर सोधपुछ गरेको थियो ।
सोधपुछका क्रममा ती युवतीलाई भारत लैजाँदै गरेका तामाङप्रति शंका लागेपछि दुबैलाई जिल्ला प्रहरी कार्यालय पर्सा ल्याइएको प्रहरी प्रवक्ता डिएसपी सुवास भट्टले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धान अनुसार तामाङले युवतीलाई वीरगन्ज नजिकैको कपडा कारखानामा राम्रो तलबसहित काम लगाइदिने प्रलोभन देखाएर सीमा पार लैजाँदै गरेको खुल्न आएको छ ।
प्रहरीले तामाङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार कारबाही अगाडि बढाएको छ । हाल पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।