पर्सा प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी तीन वर्षपछि पक्राउ

सिमराः पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई तीन वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरिया नगरपालिका ५ सतवरियाका ३६ वर्षीय सिकेन्द्र प्रसाद चौहान रहेका छन् ।
२०७६ साल वैशाख ४ गते पोखरिया नगरपालिका ६ श्रीसियाका शंकर प्रसाद महतो चाईका छोरा धर्मेन्द्र प्रसाद चौहानको विवाह पोखरिया नगरपालिका ५ सतवरियाकी निषा कुमारी चौहानसँग भएको थियो । विवाहपछि बेहुली बिदाई गर्ने विषयमा दुवै पक्षका आफन्तबीच मनमुटाव भएको थियो ।
सोही विषयलाई लिएर २०७९ साल वैशाख ९ गते दिउँसो करिब २ बजे पोखरिया नगरपालिका ४ स्थित बाल उद्यान अंग्रेजी बोर्डिङ्ग स्कूलको प्राङ्गणमा दुवै पक्षबीच झडप भएको थियो ।
झडपमा बेहुलाका बुवा शंकर प्रसाद महतो चाई टाउकोमा चोट लागि गम्भीर घाइते भएका थिए । उपचारका क्रममा २०७९ साल असार ११ गते काठमाडौंको शहीद गंगालाल अस्पतालमा उनको मृत्यु भएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जनाएका छन् ।
उक्त घटनामा पीडित पक्षले दिएको किटानी जाहेरी अनुसार संलग्न आरोपितहरूको खोजी भइरहेको थियो । तीन वर्षपछि फरार रहेका सिकेन्द्र प्रसाद चौहानलाई प्रहरीले २०८२ साल वैशाख २२ गते सतवरियाबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले चौहानलाई ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।