पर्सा प्रहरीद्वारा मानव बेचबिखन कार्यमा संलग्न एक जना पक्राउ


eShilalekh

२४ बैशाख २०८२, बुधबार १९:१८

सिमराः पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई वीरगन्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला धादिङ गल्छी गाउँपालिका वडा नं. २ का रोजन भुजेल रहेका छन् ।

वीरगन्ज महानगरपालिका १६ शंकराचार्य गेटस्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जान लागेका दुईजना युवतीहरुलाई रोकेर सोधपुछ गरेको थियो ।

आफन्त नेपालका कर्मचारीसमेतको उपस्थितिमा सोधपुछ गर्दा युवतीलाई भारत लैजाँदै गरेका भुजेलप्रति शंका लागेपछि उनिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सा ल्याइएको पर्सा प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक किहोर लम्सालले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धान अनुसार युवतीलाई हेटौडा तथा वीरगन्ज नजिकैको कपडा कारखानामा राम्रो तलबसहित काम लगाइदिने प्रलोभन देखाएर सीमा पार लैजाँदै गरेको खुल्न आएको छ ।

प्रहरीले पक्राउ परेका भुजेलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार कारबाही अगाडि बढाएको छ । पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्