सर्लाही प्रहरीद्वारा नक्कली नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सर्लाहीः सर्लाही प्रहरीले बुधवार साँझ बलरा नगरपालिका २ जमुनियामा एक भारतीय नागरिकलाई नक्कली नेपाली रुपैयाँसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्लास्थित मधुकरपुर गाउँपालिका ९ का ३४ वर्षीय विश्वनाथ साह रहेका छन् ।भारतबाट नेपाल प्रवेश गर्ने क्रममा प्रहरीले साहलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो ।
सर्लाहीको छन्कीटोलास्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले भारतबाट बीआर ३० एई ८३६३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा साहको साथबाट नेपाली हजार दरका आठ थान नक्कली नोट र सक्कली नेपाली रुपैयाँ चार हजार ५९० र भारतीय रुपैयाँ ६,३४५ बरामद भएको सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक सरोज राईले जनाएका छन् ।
साहलाई बरामद भएको रुपैयाँ र मोटरसाइकलसहित नियन्त्रणमा लिई सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।