सर्लाहीको पोखरीमा डुबेर बेपत्ता बालक मृत फेला

सर्लाहीः सर्लाहीको लालबन्दी नगरपालिका १२ जियाजोरस्थित पोखरीमा डुबेर बेपत्ता भएका बालक सोमबार दिउँसो मृत अवस्थामा भेटिएका छन् । लालबन्दी नगरपालिका ११ हीरापुरका देवेन्द्र ठाकुरका १५ वर्षीय छोरा राजु ठाकुर मृत अवस्थामा भेटिएका हुन् ।
आइतबार अपरान्ह करिब ४ बजे लखन्देहीखोला पारी निजी जग्गामा खनिएको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा उनि डुबेर बेपत्ता भएका थिए । घटना लगत्तै आइतबार साँझ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करिब तीन घण्टा खोजी कार्य गरे पनि बालक फेला परेका थिएनन् ।
सोमबार बिहानैदेखि पुनः खोजी तीव्र पार्न सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट सशस्त्र प्रहरी नायब निरीक्षक भक्तबहादुर खत्रीको नेतृत्वमा सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो ।
खोजतलासका क्रममा ठाकुरको शवलाई दिउँसो करिब १२ बजे नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले बोट र बाँसको सहायताले पानीबाट बाहिर निकालेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए ।
गर्मी छल्न राजुसँगै पौडी खेल्न गएका अन्य बालकहरू भने सकुशल बाहिर निस्कन सफल भएका थिए । मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ ।







