पर्सा जिल्ला अदालतमा न्यायकी देवीको मुर्ति अनावरण गरी कानुन दिवस मनाईयो


eShilalekh

२६ बैशाख २०८२, शुक्रबार १७:२६

वीरगन्जः आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।

प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।

पर्सा जिल्ला अदालतले कानुन दिवसको अवसरमा कार्यक्रमको आयोजना गरी अदालत परिसरमा न्यायकी देवीको मुर्ति (स्टेच्यु अफ लेडी जस्टिस) अनावरण गरेको छ ।

पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश दीपक खनालले न्यायकी देवीको मुर्ति अनावरण गर्दै कानुनप्रति श्रद्धा र न्यायप्रणालीप्रतिको विश्वास अझ प्रगाढ बनाउने दायित्वको स्मरण गराए । उनले निष्पक्ष, पारदर्शी र प्रभावकारी न्याय प्रदान गर्न अदालत प्रतिबद्ध रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले जनताको मौलिक हकको संरक्षण, कानुनी चेतना अभिवृद्धि, न्यायमा पहुँच तथा पारदर्शिताको महत्वबारे चर्चा गरे । उनले कानुन दिवसलाई कानुनी अभ्यास, सुधार र जनसहभागिताको माध्यमका रूपमा लिइनुपर्ने बताए ।

कार्यक्रममा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष कमलमोहन पोखरेल, वीरगन्ज स्कुल अफ ल का अध्यक्ष चन्द्रिका प्रसाद पटेल, अधिवक्ता लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्