कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ पालिका घोषणा


eShilalekh

३० बैशाख २०८२, मंगलवार १२:५०

सिमराः बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकालाई सोमबार ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा गरिएको छ ।

कलैयामा आयोजित एक विशेष कार्यक्रममा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहले तोकिएको मापदण्ड अनुसार नगरका २७ वटै वडामा लक्षित वर्गलाई आवश्यक सबै खोप लगाइएको पुष्टि गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेका हुन् ।

कार्यक्रमको अध्यक्षता गर्दै नगरप्रमुख विनोद साहले जानकारी दिए अनुसार नगरभित्र जन्मदेखि ११ महिनासम्मका दुई ९१६ जना, एक वर्षदेखि २३ महिनासम्मका दुई ८२७ जना, र १५ महिनादेखि २३ महिनासम्मका एक हजार ८५६ जना बालबालिकालाई सम्पूर्ण आवश्यक खोप प्रदान गरिएको छ। उनले आगामी दिनहरूमा कुनै पनि व्यक्ति खोप सेवाबाट वञ्चित नहोस् भनेर आवश्यक व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरे ।

वडा खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चितताको घोषणा गरिएको हो । यसअघि जिल्ला खोप समन्वय समिति र पालिका खोप समन्वय समितिले आवश्यक अनुगमन गरी प्रक्रिया प्रमाणित गरेका थिए ।

कार्यक्रममा उपप्रमुख रौशन प्रवीण, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, २७ वटै वडाका अध्यक्षहरू, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादव, स्वास्थ्य शाखा प्रमुख अजय जयसवाल, साथै २७ वटै वडामा कार्यरत स्वास्थ्यचौकीका प्रमुखहरू र स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्