झुन्डिएको अवस्थामा भेटिइन् महिला, माइती पक्षद्वारा हत्याको आरोप

रौतहटः रौतहटको कटहरिया नगरपालिकामा एक महिलाको शव आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा फेला परेको छ ।
कटहरिया ३ बडेरवा टोल घर भई हाल कटहरिया ५ बजार क्षेत्रका अरमान राय भाटकी श्रीमती २१ वर्षीय सानिया प्रविनको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार सानियाको शव साडीको पासो बनाई सिलिङ पंखामा झुन्डिएको अवस्थामा भेटिएको थियो । घटनाको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो । पोस्टमार्टमपछि शव सानियाकी आमा कायमा खातुनले बुझेकी छन् । कायमा भारतको बिहार पूर्वी चम्पारण जिल्ला सुगौलीकी बासिन्दा हुन् ।
विवाह भएको ६ महिना नपुग्दै सानिया प्रविनको शङ्कास्पद मृत्यु भएको छ । मृतक सानियाकी आमा कायमा खातुनले ज्वाइँ अरमान राय भाट र उनको परिवारले विवाहपछि निरन्तर दाइजोको लागि छोरीलाई शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाएकी छन् । उनले ज्वाइँ र उनको परिवारले दिएको यातना सहन नसकेर सानियाको हत्या गरी आत्महत्या देखाउन खोजेको दाबी गरेकी छन् ।
माइती पक्षले छोरीको हत्या भएको भन्दै ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्र कानुनी प्रक्रिया अगाडि बढाइने बताएका छन् ।