बाराकी युवतीलाई दिल्लीको वेश्यालयमा लैजाँदै गरेका व्यक्ति पक्राउ


eShilalekh

३१ बैशाख २०८२, बुधबार १४:१०

सिमराः बाराका एक युवतीलाई भारतको दिल्लीस्थित वेश्यालयमा लैजाँदै गरेका एक व्यक्तिलाई भारतीय प्रहरीले मंगलबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्ति सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेन्टाका २४ वर्षीय सुरज गुप्ता रहेको प्रहरीले जनाएको छ । उनलाई भारतको बिहार राज्यअन्तर्गत मोतीहारी जिल्लाको जमुनिया ईलाकाबाट भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले नियन्त्रणमा लिएको हो ।

रौतहटसँग जोडिएको सिमाना हुँदै भारततर्फ लैजाँदै गर्दा शंका लागेपछि एसएसबीले उनीहरूलाई रोकेर सोधपुछ गरेको थियो । सोधपुछको क्रममा गुप्ताले फरक–फरक बयान दिएका थिए ।

प्रारम्भिक अनुसन्धान अनुसार, गुप्ताले ती युवतीलाई आफ्नी सानी आमाले सञ्चालन गर्दै आएको दिल्लीस्थित यौन व्यवसायमा लगेर संलग्न गराउने उद्देश्यले भारत लैजाँदै गरेको खुल्न आएको छ । एसएसबीले पक्राउ परेका गुप्ता र पीडित युवतीलाई रौतहट प्रहरीमार्फत जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार, अभियुक्त गुप्ताको स्थायी ठेगाना बारा जिल्लामा पर्ने भएकाले उनलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढको जिम्मा दिइएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्