जीतपुरसिमरा उपमहानगर स्तरीय अन्तरविद्यालय फूटबल प्रतियोगिता हुने

सिमराः जीतपुरसिमरा उपमहानगर स्तरीय अन्तर विद्यालय प्रथम फूटबल प्रतियोगिता नितनपुरमा हुने भएको छ । सचिवालय विद्यालय नेपाल राष्ट्रिय आधारभुत बिद्यालय नितनपुरले पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा हुने प्रतियोगिता जेठ ३ गते देखि १२ गते सम्म चल्नेछ । सचिवालय बिद्यालयका प्रधानध्यापक जयप्रकाश रायले २७ वटा विद्यालयको सहभागिता हुने प्रतियोगितामा छात्र तथा छात्रातर्फ विजेताले रु १० हजार र उपविजेताले रु सात हजार पाँच सय प्राप्त गर्ने बताए ।
प्रतियोगितामा माध्यमिक विद्यालय छात्रतर्फ १२ वटा र छात्रातर्फ ६ वटा विद्यालयको सहभागिता रहनेछ । त्यस्तै आधारभुत विद्यालय छात्रतर्फ १० वटा र छात्रातर्फ चार वटा विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितालाई प्राविधिक सहयोग गर्ने नव जनजागृती युवा क्लबका महासचिव शम्भु सिंह ठकुरीले गर्मीका कारण प्रतियोगिता दुई समयमा आयोजना हुने बताए । प्रतियोगितामा २८ वटा खेल हुनेछन् ।
वडा नं. १० का वडा अध्यक्ष संजय पटेलले प्रतियोगिताको लागि खेल मैदान व्यवस्थित गर्ने काम भईरहेको बताएका छन् ।