त्रिभुवन विश्वविद्यालयलाई सबल र सक्षम नेतृत्व आवश्यकः सांसद मैनाली

गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएमा विदेशी विद्यार्थीसमेत आकर्षित गर्न सकिने
सिमराः बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनालीले त्रिभुवन विश्वविद्यालयलाई सबल र सक्षम नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।
प्रतिनिधिसभा बैठक अन्तर्गत शुक्रबार शून्य समयमा बोल्दै सांसद मैनालीले त्रिभुवन विश्वविद्यालय देशको गौरवपूर्ण इतिहास बोकेको प्रमुख शैक्षिक संस्था भएकाले सबल र सक्षम नेतृत्व आवश्यक रहेको बताए ।
त्रिभुवन विश्वविद्यालय ज्ञानको सभ्यता, संस्कृति र समृद्धिको केन्द्र हो भन्नेमा दुई मत नरहेको बताउँदै सांसद मैनालीले विश्वविद्यालयबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिएमा विदेशी विद्यार्थीसमेत आकर्षित गर्न सकिने बताए ।
त्रिभुवन विश्वविद्यालयको अवस्था निराशाजनक रहेको बताउँदै सांसद मैनालीले हजारौं विद्यार्थी विदेशिनु पर्ने अवस्थाप्रति संसदको ध्यानाकर्षण गराएका छन् ।
विश्वविद्यालयको गुणस्तर खस्कदै जानु, परीक्षा समयमा नहुनेजस्ता समस्याले विद्यार्थीको शैक्षिक गन्तव्य विदेश बन्दै गएको मैनालीको भनाई थियो ।