अख्तियारद्धारा मधेश प्रदेशका पूर्वमन्त्रीसहित आठ जनाविरुद्ध आरोपपत्र दायर

सर्लाहीः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन मन्त्री विजय कुमारसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सर्लाहीको सागरनाथ वन विकास परियोवजनाको वन क्षेत्रमा माछापोखरी निर्माणको नाममा ५६ करोड भन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाउँदै आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार, बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल, तत्कालीन इन्जिनियर निरन्जन लामिछाने, सागर पौडेल र तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल रहेका छन् ।
माछापोखरी निर्माणको नाममा पोखरीसमेतका गैरकानुनी संरचनाहरु निर्माण गरी साविक वन ऐन २०४९ र र प्रचलित वन ऐन २०७६ बमोजिम कसूर गरेको आयोगको ठहर छ ।
मधेस प्रदेश सरकारबाट पटक–पटक सरकारी अनुदान लिएपनि माछाविहीन माछापोखरी निर्माण कार्य पूरा नभएको आयोगको भनाइ छ । मुद्धा दायर गरिएकासंग ५६ करोड ७१ लग बिगो माग दाबी गरिएको छ ।
मन्त्री विजय कुमार र कानुन अधिकृत भुजेलसँग जनही २९ करोड ९९ लाख, नगर प्रमुख थापा, उपप्रमुख मुक्तान, प्रशासकीय अधिकृत पोखरेल र लेखा अधिकृतसँग जनही ५६ करोड ७१ लाख माग दाबी गरिएको छ । त्यस्तै इन्जिनियरसँग १० करोड १४ लाख ९५ हजार, अर्का इन्जिनियर पौडेलसँग ४६ करोड ५६ हजार १२ लाख रुपैयाँ बिगो माग गरिएको छ ।