खानेपानी मन्त्रीद्वारा नाला तथा सडक ढलान निर्माण कार्यको शिलान्यास

सिमराः खानेपानी मन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले नाला तथा सडक ढलान निर्माण कार्यको शिलान्यास गरेका छन् ।
वीरगन्ज महानगरपालिका २१ अन्तर्गत परवानीपुरदेखि पटेलनगरसम्मको बाटोमा नाला तथा सडक ढलान निर्माण कार्यको शिलान्यास गरिएको हो ।
शिलान्यास कार्यक्रममा मन्त्री यादवले यो कार्य स्थानीय जनताको जीवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको बताउँदै नागरिकको सुविधा र सहजताका लागि बजेट विनियोजन गरी काम अघि बढाइएको जानकारी दिए ।

शुद्ध खानेपानी वितरण, नाला सुधार तथा सडक ढलानजस्ता जनताको दैनिक जीवनसँग जोडिएका आधारभूत पूर्वाधारलाई आफ्नो प्राथमिकतामा राख्दै उक्त कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको मन्त्री यादवले बताए ।
शिलान्यास कार्यक्रममा वीरगन्ज महानगरपालिका २१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियार, स्थानीय अगुवा नेता, कार्यकर्ता तथा वडावासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।