सञ्चारमैत्री बजेट आउनेछः मन्त्री राजकुमार लेखी


eShilalekh

७ जेष्ठ २०८२, बुधबार २१:०५

जनकपुरधाम: मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सञ्चार क्षेत्रमैत्री बजेट ल्याउने तयारी भइरहेको बताएका छन्। जनकपुरधामस्थित मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखीले प्रदेश सरकारले जेठ १५ पछि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने र असार १ अघि नै बजेट प्रस्तुत गर्ने योजना रहेको जानकारी दिए।

मन्त्री लेखीले चालु आर्थिक वर्षमा सञ्चार मन्त्रालयलाई न्यून बजेट दिइएकाले पत्रकारिता क्षेत्रको अपेक्षित प्रगति हुन नसकेको बताए। ‘यसपटकको बजेट सञ्चारमैत्री हुनेछ’ उनले भने ‘सञ्चार क्षेत्रको विकासका लागि विशेष कार्यक्रमहरु समावेश गरिनेछ’।

पत्रकारहितमा सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री लेखीले आगामी आर्थिक वर्षदेखि पत्रकार दुर्घटना बीमालाई जीवन बीमामा रूपान्तरण गर्ने योजना रहेको बताए। उनले ज्येष्ठ पत्रकारहरूको सम्मान कार्यक्रम पनि बजेटमा समेटिने जानकारी गराए ।

मन्त्री लेखीले प्रदेशको शान्ति सुरक्षाका लागि जिम्मेवार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संरचना कमजोर रहेको उल्लेख गर्दै ती संरचनाको सुदृढीकरण तथा नयाँ संरचनाको निर्माणका लागि बजेट व्यवस्थापन गरिने बताए। उनले चालु आर्थिक वर्षमा शहीद परिवारका लागि विभिन्न कार्यक्रम संचालन गरिएको जानकारी दिए।

‘शहीदका छोराछोरीलाई छात्रवृत्तिका लागि ५० लाख बजेट छुट्याइएको छ’ उनले भने ‘शहीद परिवारलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम र आवश्यक उपकरण उपलब्ध गराउने तयारी भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्