मधेश प्रदेशमा सञ्चार क्षेत्रको समस्या पहिचान गर्न अध्ययन समिति गठन

जनकपुरधामः मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सञ्चार क्षेत्रमा देखिएका तत्कालीन समस्या र चुनौतीको पहिचान गर्दै समाधानका उपाय सुझाउन एक अध्ययन समिति गठन गरेको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयमा मन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले ‘प्रदेश सञ्चार क्षेत्रका समस्या पहिचान अध्ययन समिति’ गठन गरेको हो ।
११ सदस्यीय समितिको संयोजकत्व मन्त्रालयका सचिव उद्ववप्रसाद रिजालले गर्नेछन्। समितिमा विभिन्न सञ्चार क्षेत्रका प्रतिनिधिहरू तथा सरोकारवालाहरू समावेश गरिएको छ।
सदस्यहरूमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, आमसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका पूर्व कार्यबाहक अध्यक्ष कैलाश दास, टेलिभिजन प्रतिनिधि विष्णु कुँवर, रेडियो क्षेत्रबाट उपासना तिवारी, बानका मधेश प्रदेश अध्यक्ष आशीक अंसारी, पत्रपत्रिका तर्फ शंकर साह, पत्रकार महासंघ प्रदेशकी महिला उपाध्यक्ष ज्योति झा, महासंघ धनुषाका अध्यक्ष एवम् अनलाइन प्रतिनिधि पुरन साह र सञ्चारिका समूहकी यमुना खनाल रहेका छन्।
समितिले मधेश प्रदेशका पत्रकार तथा सञ्चार माध्यमहरूको वर्तमान अवस्था, समस्या, चुनौती तथा सम्भाव्य समाधानका उपायहरूबारे विस्तृत अध्ययन गर्ने र नीति सुधार तथा सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि आवश्यक सिफारिस पनि गर्ने जिम्मेवारी पाएको छ।
ुप्रदेशका सञ्चार संस्था धरासायी अवस्थामा पुगेका छन्। कसरी तिनको पुनरुत्थान गर्न सकिन्छ भन्ने सोचसहित समिति गठन गरिएको होु मन्त्री लेखीले भने। उनले समितिलाई गम्भीरतापूर्वक काम गर्न आग्रह गर्दै मन्त्रालय स्तरबाट आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए।