सिम्रौनगढ नगरपालिको कार्यालयमा पीडित किसानहरूद्वारा तालाबन्दी

सिमराः बाराको सिम्रौनगढ नगरपालिकामा कृषि बालीको क्षतिपूर्तिको माग गर्दै पीडित किसानहरू आईतबारदेखि आन्दोलनमा उत्रिएका छन् ।
एक महिना पहिले आएको हावाहुरी र असिना पानीले नष्ट भएको कृषि बालीको क्षतिपूर्तिको माग गर्दै पीडित किसानहरू आन्दोलनमा उत्रिएका हुन् ।
पीडित किसानहरूले सिम्रौनगगढ नगरपालिकाका कार्यालयको दुबै प्रवेशद्वारमा तालाबन्दी गरेर धर्नामा बसेका छन् । तालाबन्दी गर्ने क्रममा प्रहरीले हस्तक्षेपसमेत गरेको थियो ।
किसान संघर्ष समितिका सदस्य एवं पीडित किसान राम प्रवेश कुशवाहाका अनुसार क्षतिपूर्तिका लागि नगरपालिकाको कार्यालयमा कुनै सुनुवाइ नभएपछि बाध्य भएर पीडित किसानहरू आन्दोलनमा उत्रिएका छन् ।
गत वैशाख १४ गते बेलुकी आएको हावाहुरी र असिना पानीले वडा नम्बर १, २, ३, ६ र ७ मा करिब ९४ बिघा खेतमा लगाइएको तरकारी बाली, मकै, धान लगायतका बाली नष्ट भएको थियो । त्यस क्षेत्रका करिब ६ सय जना किसानहरू मर्कामा परेको संघर्ष समितिका सदस्य कुशवाहाले बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको आग्रहमा पीडित किसानहरूले हावाहुरी र असिनापानीले पुर्याएको क्षतिको विवरण संकलन गरेर क्षतिपूर्तिका लागि नगरपालिकाको कार्यालयमा बुझाएका थिए ।