पत्रकार महासंघले बुझायो प्रदेश सरकारलाई ज्ञापन


eShilalekh

१२ जेष्ठ २०८२, सोमबार १८:३३

सिमराः नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले सोमबार मधेश प्रदेशका सञ्चारकर्मीहरूको हकहितका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र अर्थमन्त्री सुनीलकुमार यादवलाई महासंघले सञ्चारकर्मीहरूको हकहितका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

महासंघले बुझाएको ज्ञापनपत्रमा मधेश प्रदेशका पत्रकारहरूले भोग्नुपरेका चुनौती र उनीहरूको पेसागत सुरक्षाका लागि विभिन्न मागहरू समेटिएका छन् ।

प्रदेशका विभिन्न जिल्लाबाट राजधानी जनकपुरधाम पुग्ने पत्रकारहरूलाई आवास र कार्यसम्पादनमा देखिएको असहजतालाई सम्बोधन गर्न स्थायी भवन निर्माणको योजना अघि सारेको छ । महासंघले यसका लागि आवश्यक बजेट विनियोजन गर्न प्रदेश सरकारसमक्ष माग गरेको छ ।

महासंघका अनुसार यो समस्या समाधानका लागि गुठी संस्थानसँग जग्गा लिजमा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको महासंघले जनाएको छ । जग्गा प्राप्तिको प्रक्रिया पूरा भएपछि तत्काल भवन निर्माण कार्य सुरु गर्नका लागि प्रदेश सरकारको सहयोग अपरिहार्य रहेको महासंघको भनाइ छ ।

पत्रकारहरूमाथि हुने भौतिक आक्रमण, धम्की तथा प्रेस स्वतन्त्रतामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप रोक्नका लागि कडा कानुनी प्रबन्ध र सुरक्षाको भरपर्दो प्रत्याभूति गरिनु पर्ने माग गरिएको छ । पत्रकारहरूको योग्यता, अनुभव र पेसागत मर्यादाका आधारमा उचित पारिश्रमिक तथा अन्य सुविधाहरू सुनिश्चित गर्न, साथै प्रदेशभरिका पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि नियमित तालिम, कार्यशाला र अध्ययनका अवसरहरू उपलब्ध गराउनुपर्ने आवश्यकताबारे ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यसैगरी, सूचनाको हकलाई पूर्ण रूपमा कार्यान्वयन गर्दै पत्रकारहरूलाई सहज रूपमा सूचना प्राप्त हुने वातावरण निर्माण गर्न, प्रदेशका सञ्चार माध्यमहरूलाई आर्थिक रूपमा सक्षम बनाउनका लागि सरकारी विज्ञापनको समानुपातिक वितरण र अन्य सहुलियतहरू प्रदान गर्नुपर्ने माग गरिएको छ । साथै, संकटमा परेका पत्रकारहरूको सहयोगकालागि कल्याणकारी कोष स्थापना गरी त्यसको प्रभावकारी सञ्चालन गर्नुपर्ने कुरामा पनि ज्ञापनपत्रले जोड दिएको छ ।

ज्ञापनपत्र बुझाउन नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा आयोग संयोजक केसी लामिछाने, महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ लगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्