सिरहामा सशस्त्र प्रहरीद्वारा एक सय ५२ किलो लागूऔषध गाँजा बरामद

सिरहा: सिरहाको नवराजपुर गाउँपालिका-५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले एक सय ५२ किलोभन्दा बढी अवैध लागुऔषध गाँजा बरामद गरेको छ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा बुधवार राति करिब १२ बजे सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाअन्तर्गत बीओपी नवराजपुरबाट खटिएको गस्ती टोलीले उक्त परिमाणको गाँजा नियन्त्रणमा लिएको हो।
तस्करहरू सीमा क्षेत्रबाट टाउकोमा बोकेर भारततर्फ लाँदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि नौ बोरा गाँजा छाडेर फरार भएका थिए। कालो प्लास्टिकमा प्याक गरी बोराभित्र राखिएको उक्त गाँजाको कुल तौल एक सय ५२ किलो १६० ग्राम रहेको सशस्त्र प्रहरीका एसपी सुमनजंग थापाले जानकारी दिएका छन्।
हाल बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।





