जिल्ला प्रशासन कार्यालय बाराद्वारा कलैयाका दुई उद्योगलाई दण्ड जरिवाना

सिमराः जिल्ला प्रशासन कार्यालय बाराले सोमबार कलैयामा रहेका दुई उद्योगलाई दण्ड जरिवाना गरेको छ ।
कलैया उपमहानगरपालिका १८ मोतिसरमा संचालित खुश्बु पाउरोटी उद्योगलाई एक लाख रुपैयाँ जरिवाना गरिएको अनुगमन टोलीका प्रमुख तथा बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जनाएका छन् ।
खुश्बु पाउरोटी उद्योगमा सरसफाइ, भण्डारण र उत्पादन सम्बन्धी मापदण्डमा कमी भेटिएपछि सम्बन्धित निकायले जरिवाना गरेको छ ।
यसैगरी अनुगमनको क्रममा कलैया ६ कृषि बजारमा संचालित प्रेम कुल्फी एण्ड आइसक्रीम उद्योगलाई ७० हजार रुपैयाँ दण्ड जरिवाना गरिएको हो । प्रेम कुल्फी उद्योगमा इजाजत पत्र, आइसक्रीम लेवल, सरसफाइ र मापदण्डको अभाव देखिएपछि जरिवाना गरिएको भट्टराईले जनाएका हुन् ।
दुबै उद्योगलाई सात दिन भित्र सम्पूर्ण कागजात प्रमाणपत्रसहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगन्जमा उपस्थित हुने समेत निर्देशन दिइएको छ ।
यसैगरी कलैया उपमहानगरपालिका ६ मा दर्ता बिना संचालित लक्की कुल्फी मलाई र प्रेम कुल्फी मलाई उद्योगलाई मंगलवार जिल्ला प्रशासन कार्यालय बारामा सम्पर्क गर्न निर्देशन दिएको छ ।
अनुगमन टोलिमा घरेलु तथा साना उद्योग कार्यालय बाराका कार्यालय प्रमुख देबेन्द्र कुमार झा, गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका निरीक्षक हरिभजन त्रिपाठी, वाणिज्य कार्यालय वीरगन्जका प्रतिनिधि मधुरेश प्रसाद साह, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगन्जका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय बारा प्रशासन शाखाका नायब सुब्बा रत्न बहादुर स्याङतान र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक प्रकाश खड्का, उपभोक्ता हित संरक्षणका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।