अवैध चाँदीसहित बाराका एक जना पक्राउ

सिमराः अवैध चाँदीसहित बाराका एक जनालाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका ४ का ३२ वर्षीय अनिषकुमार सिंह रहेका छन् ।
१२ किलोभन्दा बढी अवैध चाँदीसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।
वीरगन्जबाट काठमाडौं जाँदै गरेको बा.प्र.०१–००३ ख ३७०१ नम्बरको बसलाई चन्द्रागिरि नगरपालिका २ नागढुंगा स्थित प्रहरी चेकपोइन्टमा रोकेर जाँच गर्दा बसका सहचालक सिंहले बसभित्र लुकाएर राखेको १२ किलो १७६ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चाँदीका वस्तुहरूमा सिक्री, चन्द्रमा, पाउजु लगायतका गरगहना रहेको छ । सिंहलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।