गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सरसफाई कार्यक्रम सम्पन्न

जनकपुरधाम: गणतन्त्र दिवसको पूर्वसन्ध्यामा मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बुधबार बिहान मन्त्रालय परिसर क्षेत्रमा सरसफाइ गरेको छ।
गणतन्त्र दिवसलाई सिर्जनात्मक ढंगले मनाउन र जनतामा सन्देश दिन मन्त्रालयले सरसफाई कार्यक्रम आयोजना गरेको हो।
गृह, सञ्चार तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता राजकुमार लेखीको नेतृत्वमा सम्पन्न कार्यक्रममा मन्त्रालयका कर्मचारी, नीति आयोगकी सदस्य डा. शिला मिश्रा, आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गा, प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीको सहभागिता रहेको थियो।

मन्त्री लेखीले सञ्चारकर्मीहरूले निरङ्कुश शासन अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा पुर्याएको योगदान महत्वपूर्ण रहेको भन्दै प्रदेशभरिका प्रेस स्वतन्त्रता सेनानीहरूलाई सम्मान गर्न जेठ १५ गते बिहीबार विशेष कार्यक्रमको आयोजना गरिएको जानकारी दिए।