पर्सा प्रहरीद्वारा जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

सिमराः पर्सा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका ६ सन्ठीका २३ वर्षीय विशाल यादव र भारत घर भई हाल वीरगन्ज महानगरपालिका १५ भिस्वामा डेरा लिएर बस्दै आएका २५ वर्षीय मनिष पासवान रहेका छन् ।
कक्षा ८ मा पढ्ने १३ वर्षीय बालिकालाई यादवले प्रेम गर्छु भन्दै झुटो प्रलोभन दिएर बलात्कार गरेको प्रहरीले जनाएको छ । जेठ ८ गते विद्यालयबाट घर फर्किने क्रममा बालिकालाई यादवले वीरगन्ज महानगरपालिका १५ भिस्वास्थित आफ्नो डेरामा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।
पक्राउ परेका यादवविरुद्ध करणी सम्बन्धी कसुरमा ६ दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यता १४ वर्षीय बालिकालाई पासवानले बिहेको झुटो प्रलोभन दिएर बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षबाट प्रहरीमा दिएको उजुरी अनुसार, गत मङ्सिर २५ गते बालिका बजार गर्न घरबाट निस्किएकी थिइन् । त्यही बेला उनीसँग प्रेम सम्बन्धमा रहेका पासवानले बिहे गर्छु भन्ने प्रलोभन दिएर बालिकालाई लिएर भारत गएका थिए ।
भारतमा बालिकालाई ६ महिना आफूसँग राखेका पासवानले यही जेठ ११ गते वीरगन्जमा ल्याई छाडेर फरार भएका थिए ।त्यसपछि बालिकाले प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले पासवानलाई जेठ १२ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले जानकारी दिए ।
पक्राउ परेका पासवानविरुद्ध करणी सम्बन्धी कसुरमा ७ दिनको म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।