गणतन्त्र दिवसका अवसरमा जीतपुरसिमराद्धारा विविध कार्यक्रमको आयोजना

सिमराः गणतन्त्र दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । उपमहानगरपालिकाको कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा उपमहानगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा, कर्मचारी सम्मान, अवकाशप्राप्त स्वास्थ्य स्वयंसेविका सम्मान, झण्डोत्तोलनलगायतको कार्यक्रम गरेको हो ।
गणतन्त्र दिवसका अवसरमा तीन दिने कार्यक्रमको आयोजना गर्दै मनाईरहेको जीतपुरसिमराले दोस्रो दिन कार्यालयमा विशेष कार्यक्रमको आयोजना गर्दै पूर्ण खोप सुनिश्चितता उपमहानगरपालिका घोषणा गरेको छ । बैशाख मसान्तसम्ममा उपमहानगरपालिका भित्रका १५ महिनासम्मका बालबालिकाले प्राप्त गर्नुपर्ने सबै खोप पूर्णरुपमा प्राप्त गरेको आधारमा पूर्णखोप सुनिश्चितता उपमहानगरपालिका घोषणा गरिएको हो ।

उपमहानगरपालिकाभित्रका १५ महिनासम्मका बालबालिकालाई खोपको दायरामा ल्याउनका लागि प्रत्येक वर्ष सुनिश्चितता घोषणा गर्नुपर्ने हुन्छ । यस वर्ष गणतन्त्र दिवसको अवसर पारेर सुनिश्चितता घोषणासंगै प्रतिवद्धतामा हस्ताक्षर कार्यक्रम समेत गरिएको थियो ।
यसैगरी उपमहानगरपालिकाले अवकाशप्राप्त तीन जना स्वास्थ्य स्वंयसेविका महिलालाई २० हजार नगदसहित सम्मान गरेको थियो । सम्मानित हुनेमा वडा नं. १७ की सेतिमाया तामाङ, वडा नं. १३ की राजादेवी हजामीन र वडा नं. २० की स्व. लक्ष्मीदेवी यादव रहेका छन् । उपमहानगरपालिकाले २५ हजारसहित सञ्जु चौधरी र प्रदीप रेग्मीलाई उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरेको थियो ।

उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख भोलाप्रसाद अधिकारी, स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाई, उपसचिव शिवजी प्रसाद, नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोकबिक्रम शाह, नेकपा माओवादी केन्द्र जीतपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष प्रेम बरालसहित उपमहानगरपालिका विभिन्न तहका कर्मचारीको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख बालाराम खड्काले गरेका थिए ।
