गणतन्त्र जनताको बलिदानबाट स्थापित व्यवस्था हो: नेता पौडेल

सिमरा: गणतन्त्र दिवसका अवसरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलले बिहीबार साँझ सिमरा चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका छन् ।
कार्यक्रममा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेलले गणतन्त्र जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त भएको व्यवस्था भएकाले यसको संरक्षण र सुदृढीकरणमा सबै लाग्नुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने `गणतन्त्र केवल राजनीतिक व्यवस्था परिवर्तनको नाम मात्र होइन, यो आम जनताको अधिकार सुनिश्चित गर्ने माध्यम हो। अबको आवश्यकता भनेको जनतामा प्रत्यक्ष अनुभूति हुने गरी सुशासन, विकास र समृद्धिको अनुभूति दिलाउनु हो।´
गणतन्त्रको वर्तमान व्यवस्थालाई उल्ट्याउन चाहने समूह सक्रिय बन्दै गएकोप्रति पौडेलले कडा आपत्ति जनाए। उनले चेतावनी दिँदै भने, `गणतन्त्र उल्ट्याउने सपना देख्नेहरूले जनताको लडाइँबाट आएको व्यवस्था परिवर्तन गर्ने विषयमा नसोचे हुन्छ । यो सम्भव छैन”
यसैगरी नेकपा माओवादी केन्द्रका जीतपुरसिमरा उपमहानगर कमिटी अध्यक्ष प्रेम बरालले पनि गणतन्त्रमाथि भईरहेको प्रहारको बिरोध गरे ।
कार्यक्रममा एमाले र माओवादी केन्द्रका नेताकर्यकर्ताको उपस्थिति रहेको थियो ।
एमाले नगर कमिटी अध्यक्ष त्रिलोक बिक्रम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण माओवादी नेतृ शोभा कार्कीले गरेकी थिईन् ।