बारा प्रहरीद्वारा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित दुई भारतीय पक्राउ

सिमराः प्रहरीले अमलेखगञ्जबाट प्रतिबन्धित लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको भैसाली जिल्ला हुसेनारा १२ का २७ वर्षीय धिरज कुमार सिंह र भारतको मोतिहारी जिल्ला कटगेनवा २ का १८ वर्षीय चन्दन कुमार पटेल रहेका छन् ।
ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगन्जबाट हेटौँडातर्फ जाँदै गरेको बीआर ०१ बीयु ३४८५ नम्बरको भारतीय कारलाई रोकेर सवारी जाँच गरेको थियो ।
जाँचका क्रममा कारको सिटमुनि, दायाँ–बायाँ ढोकामा विशेष रूपमा बनाइएको फल्स बटमभित्र २१६० पत्ता (२१६०० ट्याबलेट) ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल र कारको बायाँ साइडको अगाडि र पछाडिको ढोकाको पल्लाभित्र लुकाइएको ७६ बोतल ओनेरेक्स १०० एएल बरामद भएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जनाएका छन् ।
बरामद लागूऔषधसहित पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानूनी प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।