वीरगन्जमा लोडरको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न बाँकी

सिमराः वीरगन्ज महानगरपालिका ७ रेलवे रोड कुम्हाल टोलमा मंगलबार राति भएको सवारी दुर्घटनामा एक अज्ञात पुरुषको मृत्यु भएको छ ।
मधेश प्रदेश ०३-००२ स ४३८८ नम्बरको लोडरले पैदल यात्रीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । लोडर वीरगन्ज महानगरपालिका १६ भुटनदेवी टोलका नारायणप्रसाद वर्णवालका छोरा २१ वर्षीय किशन वर्णवालले चलाएका थिए ।
लोडरले पैदलयात्रीलाई ठक्कर दिदाँ टाउकोमा गम्भीर चोट लागेको थियो । घाइतेलाई तत्काल उपचारकालागी नारायणी अस्पताल वीरगन्जमा पठाईएको थियो । अवस्था गम्भीर भएपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा लगिएको थियो । त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मृतकको शव हाल नारायणी अस्पतालको शव गृहमा राखिएपनि उनको पहिचान अझै हुन सकेको छैन ।
