चलचित्रमार्फत पर्यटन प्रवर्द्धनकालागी नगर प्रमुख सिंहलाई प्रस्तावना पत्र

सिमराः चलचित्र पत्रकार संघ नेपाल पर्साले वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई शुक्रवार चलचित्रमार्फत पर्यटन प्रवर्द्धनकालागी प्रस्तावना पत्र बुझाएको छ ।
चलचित्रमार्फत वीरगन्जको पर्यटकीय स्थलहरूको प्रचार गर्न सकिने र यसले स्थानीय पर्यटनलाई प्रत्यक्ष रूपमा टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ । संघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, नीति तथा कार्यक्रममा चलचित्रसँग सम्बन्धित कार्यक्रम समावेश गर्न अनुरोध गरेको छ ।
वीरगन्जका पर्यटकीय स्थानहरूमा सिनेमा संवाद कार्यक्रम सञ्चालन गर्न, स्थानिय कलाकारलाई प्रोत्साहित गर्ने र लेखन कार्यशाला सञ्चालन गर्न सकिने सुझावहरू उक्त पत्रमा उल्लेख गरिएको संघका अध्यक्ष सूर्यनारायण विकले बताएका छन् ।
मेयर सिंहले चलचित्र पत्रकार संघ पर्सालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वीरगन्जलाई कला, संस्कृति र पर्यटनको संगमस्थल बनाउने महानगरपालिकाको प्रयासमा संघीय सरकारको कार्यक्रमले सहयोग पुग्ने मेयर सिंहको धारणा छ ।