प्रधानमन्त्री ओलीद्वारा एकैपटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास


eShilalekh

१८ जेष्ठ २०८२, आईतवार १६:४०

सिमराः मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक योजना’ को आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला स्मृति भवनबाट डिजिटल (ल्यापटप) मा बटन थिचेर एकै चोटी ६४ वटा सडकको शिलान्यास गरेका हुन् ।

मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सडकहरूलाई प्रदेश सरकारको गौरवको परियोजना मानेर अघि सारिएको छ । ६४ वटा महत्वपूर्ण तथा ठूला सडक आयोजना विस्तार तथा स्तरोन्नतिका क्रममा शिलान्यास भएको क्षणलाई मधेस प्रदेश सरकारले ऐतिहासिक एवं गौरवका रुपमा स्मरण गर्दै प्रधानमन्त्री ओलीप्रति धन्यवाद व्यक्त गरेको छ ।

एकसाथ शिलान्यास गरिएका सडक योजनाहरू प्रदेशका आठै वटा जिल्लाका प्रदेशसभा निर्वाचन क्षेत्रलाई समेट्ने गरी तयार पारिएका छन् । कुल ३२० किलोमिटर लामो सडक निर्माण कार्यका लागि १२ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यो योजनाले मधेस प्रदेशमा सडक पहुँच अभावमा रहेका गाउँलाई यातायात सञ्जालमा जोड्ने, व्यापार–व्यवसाय प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई बजारसम्म लैजान सहयोग पुर्याउने मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्