विपद् व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्छः मन्त्री लेखी

रौतहटः नेपाली सेनाको मध्यपूर्वी पृतनाको आयोजनामा विपद् प्रतिकार्यसम्बन्धी ‘हातेमालो अभ्यास’ को सातौं संस्करण सम्पन्न भएको छ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका ९ स्थित नुनथरको बागमती नदी किनारमा अभ्यास सञ्चालन भएको हो ।
कार्यक्रममा मधेस प्रदेश सरकारका प्रवक्ता एवम् गृह, सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखीले विपद् व्यवस्थापन र प्रतिकार्य विषय नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले प्रदेश सरकारको प्राथमिकतामा पर्नुपर्ने बताए ।
‘बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण प्रत्येक वर्ष मानवीय तथा भौतिक क्षति हुने गरेको छ । यस्ता क्षतिको न्यूनीकरणका लागि विपद् प्रतिकार्य अभ्यास महत्वपूर्ण माध्यम हो । यस वर्ष मौसमविद्ले ३० वर्ष यताकै उच्च वर्षाको पूर्वानुमान गरेका छन्, जसका कारण सम्भावित जोखिम पनि उच्च छ । त्यसैले नेपाली सेना उच्च सतर्कता र तयारी अवस्थामा रहनुपर्छ ’ ।
नागरिकलाई बाढी तथा पहिरोबाट हुन सक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सेनालाई निर्देशनसमेत दिएका छन् ।
मध्यपूर्वी पृतना कार्यालयका अनुसार यस वर्षको मनसुनसँगै वर्षाका कारण हुन सक्ने जोखिमलाई कम गर्न यो संयुक्त अभ्यास सञ्चालन गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री सतिशकुमार सिंहलगायतको उपस्थिति रहेको थियो ।