आदिवासी जनजातिको विकासमा गम्भीर हुन प्रतिष्ठानलाई मन्त्री गुप्ताको निर्देशन

सिमराः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले देशको करिब ३७ प्रतिशत जनसंख्या ओगटेको आदिवासी जनजातिहरुको विकास र उत्थानको विषयमा गम्भीर भएर पहलकदमी लिन आदिवासी जनजाति उत्न राष्ट्रिय प्रतिष्ठानलाई निर्देशन दिएका छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २५औं सञ्चालक परिषद्को बैठकमा बोल्दै मन्त्री गुप्ताले नेपालमा आदिवासी जनजाति सूचिकरणको विषय निकै जटिल र पेचिलो भएको बताउए ।
हुम्लो समुदायलाई आदिवासी जनजाति भित्र सूचिकृत गर्ने विषय लामो समयदेखि छलफल रहेको सुनिएको भन्दै सूचीकरणका लागि प्रतिष्ठानबाट आवश्यक कागजात प्राप्त भए मन्त्रालय मार्फत मन्त्रिपरिषद्मा पेश गरिने बताए ।
प्रतिष्ठानको कार्यालय संचालनका लागि हालसम्म आफ्नो भवन नहुँदा कामकाजमा समस्या भइरहेको गुनासोमा मन्त्री गुप्ताले आफ्नै भवन निर्माणका लागि आवश्यक पहल गर्ने विश्वास दिलाए । प्रतिष्ठानको सहअध्यक्ष समेत रहेका मन्त्री गुप्ताले आदिवासी जनजातिहरुको साझा सरोकारका विषयहरुमा छलफल आवश्यक रहेको भन्दै सोसँग सम्बन्धित विषयहरु प्रस्ताव गरी राज्यले गर्नुपर्ने जिम्मेवारीको सम्दर्भमा मसिनो तरिकाले छलफल गर्न प्रतिष्ठान समितिलाई सुझाव दिए ।
प्रतिष्ठानको नियमावली र विनियम संशोधन नहुँदा त्यहाँ कार्यरत कर्मचारीहरुको वृतिविकास रोकिएको समिति पदाधिकारीहरुको गुनासोमा मन्त्री गुप्ताले कर्मचारीको आवश्यक वृतिविकासका लागि गर्नुपर्ने नियमावली र विनियम संशोधनका लागि अध्ययन गरी पेश गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिए । उनले आदिवासी जनजातिको महत्वपूर्ण मुद्दाको रुपमा रहेको आइएलओ महासन्धी १६९ अनुरुपको कार्ययोजना निर्माण गर्न मन्त्रालयले अग्रसरता लिने बताए ।