मधेस प्रदेशमा सशस्त्र प्रहरीले ‘डिजाष्टर भोलेन्टियर’ तयार गर्दै

सिमराः मधेस प्रदेशका आठ वटै जिल्लामा सशस्त्र प्रहरी बल नेपालले मनसुन तथा विभिन्न प्राकृतिक प्रकोपको प्रभावकारी व्यवस्थापनका लागि समुदायमा आधारित ‘विपद् स्वयंसेवक’ (डिजाष्टर भोलेन्टियर) तयार पार्ने भएको छ ।
प्राकृतिक तथा मनसुनजन्य प्रकोपका हिसाबले मधेश प्रदेश उच्च जोखिमयुक्त प्रदेश भएकाले सामुदायमा आधारित विपद् स्वयंसेवक तयार पार्न लागिएको सशस्त्र प्रहरी बल मधेस प्रदेशका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालल बताएका छन् ।
विपद्का समयमा न्यूनतम धनजनको क्षति होस् भन्ने उद्देश्यले समुदायलाई स्वयं विपद्सँग लड्न सक्षम बनाउन तयारी भइरहेको उनले बताए । प्रदेशका प्रत्येक जिल्लाबाट औसतमा २५ जनाको दरले स्वयंसेवक तयार पार्न लागिएको हो ।
सशस्त्र प्रहरीले हाल प्रत्येक जिल्लामा २५ जनालाई २१ दिने विपद् स्वयंसेवक तालिम सञ्चालन गरिरहेको छ । यसका लागि रौतहटमा ३८, महोत्तरीमा २६, सर्लाहीमा २५, धनुषामा २५ र सप्तरीमा २५ गरी १३९ जना छनोट भईसकेका छन् । बारा, पर्सा र सिरहामा २५–२५ जनाका दरले विपद् स्वयंसेवक तयार पार्ने तालिम छिट्टै सञ्चालन गरिने जनाइएको छ ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले विपद्को पहिलो उद्धारकर्ता स्थानीय नै हुने भएकाले पनि समुदायलाई बढी जिम्मेवार बनाउन खोजिएको बताए ।
सबै पालिकाका वडामा कम्तीमा २५ जना विपद् सूचकहरू तयार भएको र अब विपद्का घटनाबारे तुरुन्त सूचना दिने जनशक्ति निर्माण गरिने उनको भनाई छ ।