सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, टिपर चालक पक्राउ

सिमराः सर्लाहीको फुलजोरमा मङ्गलबार दिउँसो टिपरले मोटरसाइकल ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल प्रहरीको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत प्रहरी जवान मीनबहादुर दानी रहेका छन् ।
उनी बाजुरा जिल्लाको बडीमालिका नगरपालिका ६ घर भई हाल सर्लाहीको मलंगवा नगरपालिका ३ मा कार्यरत मुस्लिम आयोगका माननीय सदस्य मोहम्मद सम्सुल हकका व्यक्तिगत सुरक्षामा खटिएका थिए ।
लालबन्दीबाट पूर्वतर्फ जाँदै गरेको ना १ क ८५२० नम्बरको टिपरले दक्षिण बयलबासबाट उत्तरतर्फ राजमार्गमा बीआर ०१ एफजे ६९६१ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा दानीको टाउको र शरीरमा गम्भीर चोट लागेकाले उनलाई तत्कालै लालबन्दीस्थित मोडल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित नेशनल मेडिकल कलेज पठाइएको थियो ।
अवस्था गम्भीर भएपछि दानीलाई नेशनल मेडिकल कलेजबाट बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । शव हाल एलएस न्यूरो अस्पतालमै राखिएको छ ।
दुर्घटनामा संलग्न टिपर चालक लालबन्दी नगरपालिका १७ का ३६ वर्षीय नारायण दत्त श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रेष्ठले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक जाँचबाट खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।