रौतहटमा ट्रक र विद्युतीय गाडी एकआपसमा ठोक्किँदा दुईको मृत्यु, दुई घाइते


eShilalekh

२१ जेष्ठ २०८२, बुधबार १४:०७

चन्द्रपुरः रौतहटको चन्द्रपुर–१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र विद्युतीय गाडी एक आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८६०० नम्बरको मालवाहक ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा सर्लाही रामनगर १ खैरवाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सर्लाहीकै १८ वर्षीया रानीकुमारी यादव र रौतहटको दुर्गाभगवती गाउँपालिका ५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालक मकवानपुर हेटौंडा १३ का ग्यालसेन थोकर र विद्युतीय गाडी चालक सर्लाही रामनगर ३ का आकाश सिंहलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्