हनुमान मन्दिरमा प्राण प्रतिष्ठा: सिम्रौनगढ बजारमा तीन दिन माछा,मासु र मदिरा बिक्रीमा रोक

सिम्रौनगढ: सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ अन्तर्गत सिम्रौनगढ बजार क्षेत्रमा माछा, मासु र मदिराको बिक्री गर्न तीन दिनका लागि रोक लगाइएको छ।
नव निर्मित हनुमान मन्दिरमा प्राण प्रतिष्ठा गर्ने धार्मिक कार्यक्रम रहेको हुँदा वडा कार्यालयले जेठ २१ गतेदेखि २३ गतेसम्म उक्त रोक लगाएको हो । धार्मिक मर्यादा र शुद्ध वातावरण कायम राख्न उक्त अवधिमा मासुजन्य वस्तु र मदिरा विक्रीमा रोक लगाइएको वडाध्यक्ष नन्दकिशोर प्रसादले जानकारी दिए।
सार्वजनिक सूचना मार्फत व्यवसायीहरूलाई उक्त अवधिमा कुनैपनि प्रकारका माछा, मासु तथा मदिराजन्य वस्तु कारोबार नगर्न आग्रह गरिएको छ। स्थानीय प्रशासन र वडा कार्यालयको समन्वयमा सो निर्णय कार्यान्वयन गरिने भएको छ।
स्थानीयबासी र भक्तजनहरूको सहभागितामा भव्य रूपमा आयोजना हुन लागेको प्राण प्रतिष्ठा समारोह शान्तिपूर्ण र मर्यादित बनाउने उद्देश्यले यो निर्णय लिइएको जनाइएको छ। धार्मिक कार्यक्रमका लागि स्थानीयको सहभागितामा बुधबार कलशयात्रा निकालिएको थियो ।