बागमती पुलमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


eShilalekh

२२ जेष्ठ २०८२, बिहीबार ०८:५९

सर्लाही: पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाही–रौतहटको सिमा बागमती पुलमा कन्टेनर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा रौतहटको चन्द्रपुर १ पौराहीका २१ वर्षीय गोपाल योन्जनको ज्यान गएको हो। सर्लाहीको कर्मैयाबाट फर्कंदै गर्दा बुधबार राति ९ बजे बागमती नगरपालिकाको ११ नम्बर वडामा पर्ने पुलमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिएको हो।

घाइते अवस्थामा उद्धार गरिएका योन्जनलाई मोडेल अस्पताल बागमती हुँदै प्रादेशिक अस्पताल मलंगवा लैजाने क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । कन्टेनर चालक मकवानपुरको भीमफेदी ५ का ओमबहादुर लो लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्लामा पछिल्ला केही दिनयता भएका सवारी दुर्घटनामा मृत्यु हुनेहरूको संख्या १० पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्