मधेशमा ट्राफिक जनचेतनामूलक सप्ताह सुरु, मन्त्री लेखीले दिए ट्राफिक अनुशासनको सन्देश

जनकपुरधामः मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम’ बिहीबारदेखि औपचारिक रूपमा सुरु भएको छ।
मुख्यमन्त्री सतिशकुमार सिंह र मधेश प्रदेश सरकारका प्रवक्ता एवम् गृह, सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखीले अभियानको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा मन्त्री लेखीले मधेश प्रदेशमा ट्राफिक अनुशासन तथा नियमको कमीका कारण काठमाडौं उपत्यकापछि सबैभन्दा बढी सडक दुर्घटना हुने गरेको तथ्य प्रस्तुत गर्दै जनचेतनामूलक कार्यक्रमको आवश्यकता अझ बढेको बताए । ‘सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक अनुशासन र नियम सम्बन्धी शिक्षा अत्यन्त आवश्यक छ’ मन्त्री लेखीले भने ‘यस्ता कार्यक्रमले जनस्तरसम्म शिक्षा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’
मन्त्री लेखीले विशेषगरी युवा विद्यार्थीहरूलाई लक्षित गर्दै मनोरञ्जनात्मक तरिकाले सचेतनामूलक सन्देश प्रवाह गर्ने कार्यक्रमहरूको माध्यमबाट दीर्घकालीन प्रभाव पार्न सकिने बताए ।
कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा जिल्ला ट्राफिक कार्यालयका उच्च अधिकारीहरू सहित विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सप्ताहभर सञ्चालन हुने अभियान अन्तर्गत विभिन्न जनचेतनामूलक र्याली, प्रशिक्षण, सडक सुरक्षासम्बन्धी प्रतियोगिता तथा ट्राफिक नियम अवलम्बनसम्बन्धी शैक्षिक गतिविधिहरू सञ्चालन गरिने छन् ।